कुनै असंवैधानिक कदम नचाल्न राष्ट्रपतिलाई नेकपा शीर्ष नेताको आग्रह

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित तीन नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई असंवैधानिक कदम नचाल्न आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान शितलनिवास पुगेका नेकपाका शीर्ष नेताहरुले पार्टी विभाजन हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नसक्ने कुनै पनि असंवैधानिक कदममा साथ नदिन राष्ट्रपतिसँग आग्रह गरेका हुन् ।

भेटका क्रममा शीषै नेताहरुले बाहिर प्रचारमा ल्याइए जस्तो राष्ट्रपतिमाथि महाअभियोग लगाउने कुनै योजना नभएको प्रष्ट पारेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदका सदस्यहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताउनुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई भेटेर आएका प्रधानमन्त्री ओलीले आफूसँगै राष्ट्रपतिलाई पनि हटाउन लागेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामा मागिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले आज बिहान राष्ट्रपति भण्डारीलाई भेट्नुभएको हो ।

राष्ट्रपति भण्डारीसँग नेताहरूले झन्डै ४५ मिनेट कुराकानी गर्नुभएको थियो ।

नेतात्रयले महाअभियोगको कुरा बालुवाटारबाटै फैलाइएको अफवाह भएको राष्ट्रपतिलाई भनेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपतिसँगको भेटपछि अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार जानुभएको छ ।

तपाइको प्रतिक्रिया